बुटवल,६ माघ ।
शनिबारदेखि बुटवलमा सुरु हुने नेपाल मगर विद्यार्थी संघको ११ औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् ।
नेपाल मंगर विद्यार्थी संघले शुक्रबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनको तयारी बारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा नेपाल मगर विद्यार्थी संघका केन्द्रीय अध्यक्ष विष्णु कुमार थापा मगरले मगर विद्यार्थी संघ मगर विद्यार्थीहरुको हक हितका लागि मात्रै नभई सम्पूर्ण विद्यार्थीहरुको हक हितको लागि सधै क्रियाशिल रहदै आएको दाबी गरे ।
आफ्नो नेतृत्वको टिमले पनि आफु सक्दो विद्यार्थीका हक हितका लागि काम गरेको र अब आउने नेतृत्वले बाँकी रहेका कामलाई पुरा गर्ने अध्यक्ष थापाले बताए ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सहअध्यक्ष दलबहादुर विरकट्टा मगरले मगर विद्यार्थी संघ मगर संघको महत्वपूर्ण संगठन रहेको भन्दै मगर विद्यार्थीहरुको क्रियाशीलताका आधारमा मगर संघ थप चलायमान हुने विचार ब्यक्त गरे ।
सकेसम्म सहमतिबाट नेतृत्व चयन गर्नुपर्नेमा जोड दिदै उनले सहमति हुन नसकेमा लोकतान्त्रिक प्रक्रिया अपनाउन आग्रह गरे ।
बुटवल बहुमुखी क्याम्पसमा खुला सत्रको कार्यक्रम हुने र बन्द सत्रको कार्यक्रम मगर सभाहल तिलोत्तमामा हुने महाधिवेशन आयोजक समितिका संयोजक मनिष फालले जानकारी दिए । राजमार्ग चौराहाबाट मगर समुदायको विभिन्न भेषभुषा सहितको र्याली बुटवल बहुमुखी क्याम्पससम्म जाने र त्यस पछि कार्यक्रमको औपचारीक रुपमा सुभारम्भ हुने संयोजक फालले बताए ।
महाधिवेशनमा देशभरबाट गरी ६०१ जना प्रतिनिधिहरुको सहभागिता रहने छ ।
महाधिवेशनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले उद्घाटन गर्ने कार्यक्रम रहेको केन्द्रिय सदस्य तथा महाधिवेशन आयोजक समितिका संयोजक मनिष फालले जानकारी दिए । यस्तै महाधिवेशन उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको संघका पुर्व केन्द्रीय सचिब तेजु रानाले जानकारी दिए ।
दुई दिनसम्म चल्ने महाधिवेशनले आगामी २ वर्षका लागि ५७ सदस्यीय केन्द्रिय समिति चयन गर्नुकासाथै बुटवल घोषणापत्र जारी गरेर सम्पन्न हुने पुर्व केन्द्रीय सचिब रानाले बताए ।
संघका केन्द्रीय सचिब दीपु मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।






