विराटनगर,५ माघ । ज्युँदो शिशुलाई मृत घोषणा गरेकाे आराेपमा मोरङको कोशी अस्पतालका डाक्टरसहित तीन जना स्वास्थ्यकर्मी निलम्बित भएका छन् । अस्पतालको इमर्जेन्सीमा उपचाररत १८ दिनको शिशुलाई मृत घोषणा गर्ने मेडिकल अफिसर डाक्टर आकाश यादवसहित तीन जना स्वास्थ्यकर्मीलाई अस्पताल प्रशासनले निलम्बन गरेको हो । बिहीबार अस्पतालले छानबिन समिति गठन गर्दै प्रतिवेदन नआएसम्म उनीहरूलाई निलम्बन गरेको हो ।
निलम्बित हुनेमा डा. यादवसहित अहेव लक्ष्मण माझी र टीका अधिकारी रहेका छन् । उनीहरूलाई स्पष्टीकरण पनि सोधिएको अस्पतालका सुचना अधिकारी रामप्रसाद नेपालले बताए ।
अस्पतालका बालरोग विशेषज्ञ प्रवीण झाको नेतृत्वको तीन सदस्यीय समिति बनाइएको नेपालले बताए । समितिमा अन्य दुई जनामा बाल रोग विशेषज्ञ सूर्यकान्त चौधरी र रामप्रसाद नेपाल रहेका छन् । छानबिन समितिले सात दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउने छ ।
बुधबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म डा. यादव र अहेवद्वय माझी र अधिकारीको ड्युटी थियो । बुधबार बिहान साढे ८ बजे मोरङको जहदा गाउँपालिका–३ का १८ दिने नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि पिता दिलीप मुखिया र आमा उमा मुखियाले कोशी अस्पताल लिएर आएका थिए । डाक्टर आकाश यादवले राम्रोसँग शिशुको उपचार नगरी मृत घोषणा गरेपछि बुधबार अस्पताल दिनभरि तनावग्रस्त बनेको थियो । चिकित्सकले मृत घोषणा गरेको शिशुको अहिले विराटनगरस्थित गोल्डेन अस्पतालको एन आईसीयूमा राखेर उपचार भइरहेको छ ।






