बुटवल,२९ पुस ।
मुलुकमा अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको निजी विद्यालय सञ्चालकहरुले बताएका छन् ।
अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आएका निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरुको योगदानको कदर गर्नुको सट्टा राज्यले अवमुल्यन गरेको उनिहरुको गुनासो छ ।
शुक्रबार बुटवलमा आयोजित निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल, लुम्बिनी प्रदेश परिषद् भेलाको उद्घाटन सत्रमा बोल्दै उनिहरुले उक्त कुरा बताएका हुन् ।
निजी क्षेत्रसँगको सहकार्यबिना अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न सम्भव नरहेको भन्दै उनिहरुले विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने कार्यमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन सरकारसँग हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बताए ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल,प्रदेश समितिका अध्यक्ष लालहरी पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज बिष्णु पन्थी,चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश अध्यक्ष टंक पोखरेल,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले आ आफ्नो भनाई राखेका थिए ।
सो अवसरमा पाल्पाबाट लुम्बिनी प्रदेश सभामा निर्वाचित निजी तथा आवासीय विद्यालय अर्गनाइजेशनका निवर्तमान प्रदेश सलाहकार खेम बहादुर सारु सहित बिभिन्न स्थानीय तहमा निर्वाचित प्याब्सनका निवर्तमान तथा पुर्व पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।
शनिबारसम्म चल्ने प्रदेश परिषद् भेलाको शुक्रबार एक कार्यक्रमकाबीच निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालका अध्यक्ष डि के ढुंगानाले उद्घाटन गरेका हुन् ।






