बुटवल,२२ पुस । रुपन्देहीको सैनामैनामा पाँचौ थारु माघी महोत्सवको आयोजना हुने भएको छ ।
थारु आदिबासीको नयाँ वर्ष २६४६ को अवसरमा यही पुस २८ ,२९ र ३० गते महोत्सव आयोजना गरिएको हो ।
थारु कल्याणकारीणी सभा सैनामैनाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी महाेत्सवकाे तयारी बारे जानकारी गराएको हो ।
महाेत्सवमा सांस्कृतिक कार्यक्रमसँगै राजनीतिक चेतनाका कार्यक्रमको आयोजना गरिने थारु कल्याणकारीणी सभा सैनामैनाका सल्लाहकार खुशीराम चौधरीले बताए ।
उनलेे महोत्सवले थारु समुदायको संस्कृतिकको संरक्षणसँगै राजनीतिक चेत पनि भर्ने विश्वास ब्यक्त गरे । थारु समुदायमा राजनीतिक चेतको आवश्यकता रहेको बताउँदै चौधरीले महोत्सवले थारु समुदायमा नेतृत्व क्षमताको विकास गर्दै आएको बताए ।
तीन दिने कार्यक्रम अन्तर्गत यही पुस २८ गते रक्तदान कार्यक्रमको आयोजना गरि महोत्सवको सुरुवात हुने सैनामैना नगर कार्यसमितिका सभापति दुल बहादुर थारुले जानकारी दिए । २९ गते उद्घाट कार्यक्रमसँगै थारु साहित्य बाचन, तथा विविध खेलकुद प्रतियोगिताको आयोजनासँगै थारु लोक नृत्य प्रदर्शन गरिने उनले बताए ।
पुस ३० गते मुल समारोहको आयोजना गर्दै थारु झाँकी, जनजनतामुलक र्याली,स्थानीय लोक नृत्यसँगै थारु खानाका परिकारहरु महोत्सवमा राखिने कार्यसमितिका उपसभापति हरिनारायण थारुले जानकारी दिए ।
महोत्सवको तयारी भईरहेको कार्यसमितिका सचिब चन्द्रमान थारुले बताए ।
२००५ सालमा स्थापना भएको थारु कल्याणकारीणी सभाले सामाजिक विकृति हटाउँदै भाषा संस्कृति,सीप,तथा मठमन्दिर संरक्षणमा जोड दिदै आएको जनाएको छ ।






