सुर्खेत,११ पुस । कर्णाली प्रदेशसभा सदस्यको शपथ ग्रहण आज हुने भएको छ । प्रदेश सभाका ज्येष्ठ सदस्य दैलेखबाट निर्वाचित प्रदेश सभा सदस्य विनोदकुमार शाहले शपथ खुवाउने छन् ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश प्रमुख तिलक परियारले ज्येष्ठ सदस्य विनोद कुमार शाहलाई सोमबार बिहान साढे ११ बजे शपथ ग्रहण गराउने छन् ।

त्यसपछि ज्येष्ठ सदस्य शाहले दिउँसो तीन बजे अन्य सांसदहरुलाई सपथ खुवाउने प्रदेश सभा सचिवालयले जनाएको छ ।

शाह सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म कार्यबहाक सभामुख भएर बैठकको अध्यक्षता गर्नेछन् ।

प्रदेश सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम तीन दिन अगावै सचिवालयमा उपलब्ध गराउन अनुरोध गरिएको थियो । तर आइतबार बुलेकासम्म कुनै पनि सांसदहरुले जानकारी नगराएको सचिवालयले जनाएको छ ।

शपथ ग्रहणका लागि सबै तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।