जाजरकोट,२७ मंसिर ।
जाजरकोटमा सोमबार भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाका अनुसार उपचारका लागि लगिएका थप एक घाइते जयलाल अधिकारीको पनि बाटोमै मृत्यु भएको छ ।
जिल्लाकाे छेडागाड नगरपालिका–५ मा सोमबार अपराह्न ४ बजे कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जिप दुर्घटनामा परेको थियो। दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
घाइते तीन जनालाई उद्दार गरी उपचारका लागि सुर्खेत लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक निरौलाले बताए ।
दुर्घटनामा दैलेखको भगवती माई गाउँपालिका–२ का ३५ वर्षीय चालक मानबहादुर बस्नेत, वडा नम्बर ३ का २८ वर्षीय वीरेन्द्र केसी, ३१ वर्षीय अम्मरबहादुर खड्का, जाजरकोटको छेडागाड नगरपालिका ६ का ३५ वर्षीय वीरबहादुर खत्री, वडा नम्बर ५ का ३३ वर्षीया जयकुवारा बुढा, ३२ वर्षीया नैनसरा अधिकारी, ३१ वर्षीय रामबहादुर बुढा, ३८ वर्षीय दीपक अधिकारी, उनकी छोरी ४ वर्षीया निशा अधिकारी, ३६ वर्षीया देवीसरा बुढा, ४२ वर्षीय अम्मर अधिकारी र ४८ वर्षीय जयलाल अधिकारीको मृत्यु भएको हो ।
४ वर्षीय निशासहित अम्मर अधिकारी र जयलाल अधिकारीको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। अरु ८ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
छेडागाड नगरपालिका–४ स्थित खातीजेवामा भएको विवाहको लागि रिजर्भ गरिएको जिप भिरपाटीमा दुर्घटनामा परेको हो।
विवाह भोजमा सहभागी एकजना जन्ती बिरामी परेपछि उनलाई उपचारका लागि नगर अस्पताल बडावनमा लैजादै गर्दा
उक्त जिप छेडागाड–४ र ५ मा पर्ने भिरबाटीमा दुर्घटनामा परेको हो ।
वडा नम्बर ४ का अध्यक्ष गणेश थापाका अनुसार जिप खाली देखेपछि अरु मानिस पनि थलह बजारसम्म जाने भन्दै चढेका थिए। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जिप मध्यपहाडी लोकमार्गबाट करिब २ सय मिटर तल खसेको थियो।









