जाजरकोट,२६ मंसिर । जाजरकोटमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । जिल्लाकाे छेडागाड नगरपालिका वडा नम्बर ५ मा आज दिउँसो कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छेडागाड नगरपालिका उपमेयर चन्द्रबहादुर थापाले जानकारी दिए ।
मृत्यु हुनेहरूमा जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ५ का जयकुमार बुढा, देवीसरा बुढा, रामबहादुर बुढा, दीपक अधिकारी, नैनसरा अधिकारी, अम्बर अधिकारी, निशा अधिकारी, वडा नम्बर ६ का वीरबहादुर खत्री, जीपको चालकसमेत रहेका दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्बर २ का मानबहादुर राउत, वडा नम्बर ३ का वीरेन्द्र केसी र अम्बरबहादुर खड्का रहेका छन् ।
दैलेखको भगवतीमाई गाउँपालिकाबाट जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ५ जन्ती आएका थिए । जन्ती र माइती पक्षबीच झडप भएपछि एक जना घाइते भएका र घाइतेलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा जीप दुर्घटनामा परेको उपमेयर थापाले बताए । दुर्घटनामा घाइते भएका जयनाथ अधिकारीलाई उपचारका लागि नेपालगञ्ज लगिँदैछ ।
जीप मध्यपहाडी लोकमार्गबाट तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।









