बुटवल,२७ कार्तिक । बिहानको १०ः३० बज्दा कक्षा कोठामा पढि रहने क्रितिका घिमिरे आईतबार भने विद्यालयको प्राङ्गणमा उभेएकी थिईन । उनी मात्र होईन उनका साथीहरू पनि लाईनबद्व थिए । यो दृश्य रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको सुनगाभा पब्लिक माध्यमिक विद्यालयको हो ।
विद्यालयले आयोजना गरेको नमुना निर्वाचनमा मतदान गर्नको लागि लाईनबद्ध भएको घिमिरेले सुनाईन । घिमिरे पछाडी सरिता राउत पनि मतदान गर्नको लागि लाईनबद्ध भएकी थिईन । कक्षा १० मा पढ्ने सुरक्षा थापा पनि मतदान गर्नको लागि आतुर देखिन्थिन । उनिहरुले पहिलो पटक निर्वाचनमा मतदान गर्दै गरेको सुनाए । लाईन सर्दै गयो । निर्वाचन अधिकृतलाई मतदाता परिचय पत्र देखाउँदै हातको बुढी औंलामा मसी लगाए र मतपत्र हातमा लिएर गोप्य मतदान स्थलमा उनिहरु गए । आफुलाई मन परेको उम्मेदवारको चिन्हमा स्वस्तिक छाप लगाएपछि मतपेटिकामा मतपत्र खसालेर उनिहरुले नमुना भाग लिएका थिए । कक्षा ८ मा पढ्ने दिब्यानी गौतम र कक्षा ९ मा पढ्ने विवेक घिमिरे प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुन । घरदैलो कार्यक्रम गर्दै उनिहरुले आफ्ना एजेण्डाहरु प्रस्तुत गर्दै भोट मागेका थिए । चुनावको समयमा चुनावीप्रचार प्रसार ,घरदैलो, घोषणपत्र बनाउन र निर्वाचनमा भाग लिन सिकेको गौतम र घिमिरले सुनाए । कक्षा १० मा पढ्ने हिमाल भुसाल सुरक्षा प्रमुख बनेका थिए । उनले निर्वाचनको सुरक्षा ब्यवस्था मिलाउँदै ४ वटा मतपेटिकाको सुरक्षा गर्दै लाईनबद्ध रुपमा निर्वाचन गराएका थिए ।
विद्यालयका साहयक प्रिन्सिपल कमलचन्द्र पौडेल निर्वाचनको प्रमुख आयुक्त बनेका थिए । उनले निर्वाचनको अनुगमन गर्दै निर्वाचन निर्देशिका अनुसार नै निर्वाचन गराएको सुनाए । नमुना निर्वाचनमा ४ वटा राजनीतिक दलहरुले भाग लिए । कक्षा ६ देखि १० सम्मका ४५३ जना मतदाताले मतदानमा सहभागिता जनाए । मतदानको लागि ४ वटा बुथको स्थापना सँगै प्रत्यक्ष र समानुपातिक मतपत्रको ब्यवस्था समेत गरिएको सुनगाभा पब्लिक माध्यमिक विद्यालयका प्रिन्सिवल तिलब केसीले बताए । मंसिर ४ गते देशमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुँदै छ । यसरी विद्यालयमा गरीने नमुना निर्वाचनले विद्यार्थीको माध्यमबाट घर घरमा मतदाता शिक्षा पुग्ने केसीले सुनाए । निर्वाचनको विषयमा कक्षा कोठामा अध्ययन गर्ने विद्यार्थीहरुले निर्वाचन मै सहभागिता भएर निर्वाचन प्रक्रियामा भाग लिएका छन । यसले गर्दा विद्यार्थीको पठनपाठनमा सहयोग हुनुको साथै घर घरमा मतदाता शिक्षा पुग्ने विद्यालयको बुँझाई छ ।