बुटवल,१९ कार्तिक । आज रूपन्देहीकाे छपियामा नेपाल-भारत अन्तरसीमा समन्वय बैठक बस्दैछ ।
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित सुरक्षा व्यवस्थालगायत विषयमा छलफल गर्न नेपाल र भारतका प्रशासन र सुरक्षा अधिकारीबीच अन्तरसीमा समन्वय बैठक बस्न लागेको हो ।
बैठकमा लुम्बिनी प्रदेशका तीन जिल्ला रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख र यहाँका तीन जिल्लासँँग सीमा गाँसिएका भारतका सिद्धार्थनगर र महाराजगन्ज जिल्लाका डीएम र सुरक्षा प्रमुखको सहभागिता रहने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।
मुख्यतः निर्वाचनका बेला सीमा सिल गर्ने विषयमा छलफल हुने
र त्यसबाहेक चोरीपैठारी, आपराधिक गतिविधि नियन्त्रण, संयुक्त गस्ती र द्विपक्षीय सरोकारका विषयमा छलफल हुने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।
शनिबार बिहान ११ बजेदेखि रुपन्देहीको छपियास्थित एक होटलमा बस्ने बैठकमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा सरोकारवालाको सहभागीता रहने प्रशासनले जनाएको छ ।
निर्वाचनलाई सुरक्षित र भयरहित तुल्याउन सीमा समन्वय बैठक आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।








