बुटवल,१८ कार्तिक ।
आशन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सत्ता गठवन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा आजदेखि घरदैलो अभियान सुरु गरेको छ ।
गठवन्धनले रुपन्देही क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य पदका सत्ता गठबन्धनका साझा उम्मेदवार तथा राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव बहादुर थापा सूर्यवंशी र प्रदेश सभा सदस्य पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता बामदेव क्षेत्रीको गृहनगर बुटवलको सुख्खानगरबाट घरदैलो अभियान सुरु गरेका हुन् ।
घरदैलो अभियानको सुरुवात गर्दै सत्ता गठबन्धनका साझा उम्मेदवार सुर्यवंशी थापाले संविधानको रक्षा र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि लोकतान्त्रिक बाम गठवन्धन बनेको भन्दै गठवन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गरे ।
आफूहरूको गठबन्धन अग्रगामी शक्तिहरूको गठबन्धन भएको भन्दै उनले आगामी निर्वाचनले प्रश्चगामीहरुको समूहलाई पराजित गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘देश बचाउनु भनेको देशको मूल कानुन संविधानको रक्षा गर्नु हो । हाम्रो गठबन्धन भनेको देश बचाउन गरिएको गठबन्धन हो । हामी एकजुट छौँ हाम्रो गठबन्धनका उम्म्मेद्वारलाई जिताउनुहोस् । ’
नेकपा एमालेले बहुमत पु¥याएर पनि देशमा राजनीतिक स्थिरताको ग्यारेन्टी गर्न नसकी संविधान नै धराशायी बनाएको आरोप लगाउँदै उनले भ्रष्ट्राचारको अन्त्य र मुलुकको विकास र समृद्धिका लागि गठवन्धनलाई जिताउन अपील गरे ।
सत्ता गठबन्धनबाट रुपन्देही २ दुइ प्रदेशसभा सदस्य पदका उम्मेदवार बामदेव क्षेत्रीले यति बेला आफूहरूको गठबन्धन संविधान र संघीयताको पक्षमा रहेको बताउँदै यो गठबन्धनलाई विजयी बनाउन आग्रह गरे । उनले प्रदेश योजना आयोगमा रहँदा बिभिन्न क्षेत्रमा काम गरेको अनुभव रहेकोले लुम्बिनी प्रदेश र रुपन्देहीलाई हरेक किसिमले अब्बल बनाउने बाचा व्यक्त गरे ।







