जनकपूर,२८ असोज ।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट सरकारमा सहभागी तीन जना मन्त्री बर्खास्तमा गरेका छन् ।
नेपाली कांग्रेसबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई मुख्यमन्त्री लालबाबु राउतले पदमुक्त गरेको मधेस प्रदेश प्रमुखको कार्यालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
तीनै जना मन्त्री २०७८ सालको जेठ २६ गते नियुक्त भएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीलाई बर्खास्त गरेपछि मुख्यमन्त्री राउतले पनि मधेस सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री राउतले सत्ता गठबन्धनमा आबद्ध दलहरू नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबैलाई बर्खास्त गर्ने तयारी गरे पनि आज कांग्रेसबाट सहभागी मन्त्रीलाई मात्रै बर्खास्त गरेका हुन् । रिक्त तीन वटै मन्त्रालय मुख्यमन्त्री राउतले नै सम्हाल्ने पनि प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।






