दाङ,१५ असोज । सल्यानमा भएको जीप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सल्यान जिल्लाको कुमाख गाउँपालिका वडा नं. ७ डुमकोटका ३९ बर्षीय मानबहादुर पुन र सोही ठाउँकी १४ बर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायव उपरीक्षक दामोदर केसीले जानकारी दिए ।
घाइते १७ जनालाई उद्धार गरि जिल्ला अस्पताल खलंगा तर्फ पठाइएको उनले बताए ।
यो खबर तयार पार्दासम्म घाइते कसैको पनि परिचय खुली नसकेको प्रहरी नायव उपरीक्षक केसीले बताए ।
शनिबार विहान ६ ः ४० बजेतिर जिल्लाको कुमाख गाउँपािलका वडा नं. ७ जिमालीस्थित भित्री सडकखण्डमा डुमकोटबाट शारदा नगरपालिका वडा नं. ११ स्थित खैराबाङ मन्दिर जाँदै गरेको रा १ ज ७९८ नम्बरको जीप उकालोमा ब्याक गर्ने क्रममा सडकबाट झन्डै एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।









