बुटवल,२४;भदौ । आज लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले मधेस प्रदेशका सप्तरी र बारा जिल्लामा ठूलो पानी परिरहेको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार पछिल्लो एक घण्टामा त्यहाँ ३१ मिलिमिटर पानी परिसकेको छ ।
जलवाष्पयुक्त हावाको प्रभाव अहिले मधेस प्रदेशमा धेरै परेको छ । दिउँसो यसको प्रभाव लुम्बिनी प्रदेशमा धेरै पर्ने मौसमविद्ले बताएका छन् । यही कारण दिउँसो लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।
सप्तरी र बारामा एक घण्टामा नै ३१ मिलिमिटर पानी परिसकेको र फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।
मनसुनी न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहे पनि बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण नेपालमा मौसम बदली भइ पानी परिरहेको उनले बताए । बङ्गालको खाडीबाट जलवाष्युक्त हावा लगातारजसो नेपाल आइरहेकाले पानी परेको उनको भनाइ छ ।
मौसमविद् श्रेष्ठका अनुसार आज देशभरकै मौसम बदली भई देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।








