बुटवल,१३ भदौ । बुटवलकाे सुख्खानगरस्थित दीप बोर्डिङ हाई स्कुलका शिक्षकले कक्षा १० मा पढ्ने विद्यार्थीलाई निर्घात कुटपिट गरेकाे विद्यार्थीका अभिभावकले बताएका छन् । विद्यालयका कम्प्युटर विषयका शिक्षक एकराज गुरागाईँले विद्यार्थी जेनित रायमाझीलाई कुटेको विद्यार्थीका अभिभावकले जानकारी दिए ।
रूपन्देहीकाे तिलोत्तमा वडा नं. ५ घर भएका जेनित कक्षा कोठामा हासेको भन्दै शिक्षकले कुटेको अभिभावक चन्दा रायमाझीले बताइन् । यसअघि पनि आफ्नो छोरामाथि विद्यालयमा शिक्षकले कुटपिट गर्ने गरेको उनकाे दाबी छ ।
पटकपटक शिक्षकबाट छाेरा कुटिएपछि विद्यालयका प्राचार्य टीकाराम न्यौपानेसँग बुझ्न खाेज्दा प्राचार्य न्याैपानेले आफूलाई थर्काएको अभिभावक चन्दाले बताइन् । विद्यालयमा शारीरिक यातना दिन नपाइने भए पनि पटक पटक कुटपिटका घटना दोहोरिएको उनको भनाइ छ।
शिक्षकको कुटाइबाट घाइते भएका जेनितलाई अभिभावकले लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रालिमा उपचार गराएका थिए । जेनितलाई १५ दिन आराम गर्न चिकित्सकले सुझाव दिएकाे अभिभावकले बताए । शिक्षकको कुटपिटबाट जेनितको बंगारामा असर पुगेको चिकित्सकले जानकारी दिए ।
विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले भने विद्यार्थीलाई कुटपिट भएको बारे आफुलाई जानाकारी आएको र यसबारे थप बुझ्ने प्रयास भइरहेको प्रतिक्रिया दिए ।






