जनकपूरधाम,२८ साउन ।
प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

प्रहरी समायोजन नगरेको भन्दै मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको हो ।

मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आज पत्रकार सम्मेलन गरी पहिलो चरणको आन्दोलनको घोषणा गरेका हुन् ।

पहिलो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत भोलिदेखि एक हप्तासम्म हरेक दिन बिहान ११ बजेदेखि १ बजेसम्म प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना दिने कार्यक्रम राखिएको मन्त्री साहले जानकारी दिए ।

धर्नामा प्रदेशका मन्त्री, प्रदेश सभा सदस्य र नागरिक समाजको सहभागिता रहने उनले बताए । संघीय सरकारले एक हप्तासम्म पनि माग पूरा नगरेमा दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने मन्त्री साहले चेतावनी दिए । तत्कालै प्रहरी समायोजनको काम थालेर चुनाव अघि नै प्रहरीलाई प्रदेश मातहत ल्याउनुपर्ने उनको भनाई छ ।

प्रदेश सरकारले प्रदेश प्रहरी ऐन २०७५ सालमै पारित गरिसकेको र संघीय सरकारले पनि प्रहरी समायोजन गर्ने ऐन पारित गरिसकेकोले अब रोक्नुपर्ने कुनै पनि कारण नभएको मधेस सरकारको दाबी छ ।

प्रहरी र शान्ति–सुरक्षासम्बन्धी अधिकार प्रदेशको क्षेत्राधिकारभित्र रहेको भन्दै प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकार मातहत ल्याउनुपर्ने मधेस प्रदेश सरकारको माग छ ।