-टाेप अस्लामी
१) अमेरिकी सभामुख न्यान्सी पोलिसीको ताईवान भ्रमण (साउन १७, २०७९/अगष्ट २, २०२२ मंगलबार राती ताईवान अवतरण) सम्बन्धमा विश्वको ध्यान चनाखो रुपले सलबल गरीरहेको अवस्थामा बुधबार (साउन १८ गते) अमेरिकी सभामुख न्यान्सी पोलिसीले ताईवानको संसदलाई सम्बोधन, त्यहाँका उच्च पदस्थ अधिकारीहरुसंगको भेटघाटको विषयलाई लिएर यतिबेला विश्व राजनीति निकै नै तातेको अवस्था छ ।
२) यद्यपि सम्भावित यस भ्रमणबारे नेपालको उत्तरी छिमेकी मूलुक चीनले पहिले नै चेतावनी समेत दिईसकेको समाचार आईरहेको थियो । साउन १२ गते महामहिम अमेरिकी राष्ट्रपति जो बाईडन र महामहिम चिनीयाँ राष्ट्रपति सी चीङ्गफीङ्गबीच विभिन्न विषयमा भएको करीब सवा २ घण्टा लामो कुराकानीका सन्दर्भमा अमेरिकी अधिकारीबाट ताईवान भ्रमण नगर्न भनिएको समाचारहरु बाहिर आएका थिए । तर चीन–ताईवान प्रतिको दृष्टिकोणमा “स्पष्टता” भएका अमेरिकी सभामुख न्यान्सी पोलिसीले आफ्ना राष्ट्रपतिको सुझावलाई केवल सल्लाहको रुपमा मात्र लिएको बुझिएको छ ।
३) कुनै देशका उच्च पदस्थ अधिकारीहरुले अर्को देशमा राजनीतिक भ्रमण गर्नु अन्यथा नभएता पनि चीन–ताईवान सन्दर्भ विश्व राजनीतिमा निकै नै फरक विषय हो भन्नेमा अमेरिकी शासकहरुलाई थाहा नभएको विषय होईन । तर चीनको विरोध रहदारहदै पनि आफ्ना निहित स्वार्थका कारण अमेरिकी सभामुख न्यान्सी पोलिसीले ताईवान भ्रमण गरेरै छाड्नु भयो । यो विषय पृथ्वीको पूर्वी क्षेत्रका लागि निकै नै गम्भीर विषय हो भन्ने कुरा अहिले सतहमा आएको छ ।
४) नेपाल सरकारको आधिकारिक धारणा बाहिर नआए पनि अमेरिकी सभामुख न्यान्सी पोलिसीको ताईवान भ्रमण बारे नेपालका कतिपय राजनीतिक दल र संघसंस्थाहरुले पनि आधिकारिक विरोध जनाई सकेका छन् । जुन सन्दर्भ नेपाली राजनीतक वृत्तमा छलफलको विषय बनीसकेको छ ।
५) सामरिक महत्वको भूभागको रुपमा अवस्थित र प्रविधिको विकासमा अग्रपङ्क्तिमै आईरहेको ताईवानका शासकहरुमा ताईवान छुट्टै देश हो र हुनुपर्छ भन्ने महत्वाकाँक्षा र आत्मविश्वासको विकास हुनु/गराईनु कुनै अस्वाभाविक विषय होईन । ताईवानले पृथक देश (अहिले ताइवानसँग भ्याटिकन सिटीसहितका १४ मुलुकले मात्र कूटनीतिक सम्बन्ध राखेका छन्) भनेर सोही अस्तित्वका लागि संघर्षरत रहेता पनि चीनले आफ्नो अभिन्न अङ्गको रुपमा दावी गर्दै आएको र कुनै पनि समयमा एउटै देशीय सिमाभित्र गाभ्ने कुरा खुल्ला रुपमा भन्दै आएको छ । यस विषयमा अमेरिकाले भौगोलिक रुपमा चीनबाट अलग रहनका लागि ताईवानलाई उक्साउदै आएको उसका अभिव्यक्ति र गतिविधिले स्पष्ट बनाएको अवस्था हो ।
६) चीन–ताईवान विषय र यसका भू–राजनीतिक विषयहरु निश्चय नै जटील छन् । विश्व महाशक्तिको पगरी भिरेको अमेरिकाले अर्को महाशक्तिको रुपमा उदाउँदो चीनलाई कतै न कतै अलमलाउने पेचिलो मुद्दा खोजीरहेको अवस्थामा ताईवान प्रकरण नै कारगर हुने उसको ठम्याई रहेको बुझिन्छ । यसले गर्दा चीनको विरोधका वाबजुद पनि अमेरिकी उपल्लो तहको अधिकारीले ताईवान भ्रमण गरेरै छोडे । तर अमेरिकी सभामुख पाेलिसीले ताईवान छाेडेपछि ताईवानको समेत अटेरीकाे फलस्वरूप गत विहिबार (साउन १९/अगष्ट ४) देखि चीनले ताईवानलाई निकै नजिकको दुरीमा सात ठाउँबाट घेराबन्दी गरेको छ । सामुद्रिक सैनिक अभ्यासको नाममा कम्तिमा तीन दिनका लागि ताईवानलाई नाकाबन्दी नै गरीसकेको अवस्था छ । यसले गर्दा पृथ्वीको पूर्वी क्षेत्रमा तनाव उत्पन्न भईरहेको छ । अगाडि के हुन्छ त्यो अझै थाहा छैन (विषय झनै जटील पनि हुन असम्भव छैन) । यस्तो विषयमा नेपालले मुकदर्शक भएर बस्न मिल्दैन ।
७) एक चीन नीतिको वकालत गर्दै आएको र असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको नेपाल जस्तो देशले आफ्ना मित्र राष्ट्रहरुले रणमैदानमा उत्रिने तरखर गरीरहेको विषयलाई टुलुटुलु हेरेर बस्ने निरीहता प्रकट गर्ने छुट छैन । क्षेत्रीय शान्ति कायम राख्न नेपालको भूमिकालाई पनि अस्तित्वमा उभ्याउनु समसामयिक सन्दर्भमा विश्वसामु हाम्रा पूर्वजका विरासत ताजगी बनाई राख्नु पनि हो ।
८) अमेरिका नेपालको मित्र राष्ट्र हो, दाता राष्ट्र पनि हो, हाम्रो देशको लोकतन्त्र सुदृढीकरणका लागि पनि सहयोग गर्दै आएको राष्ट्र हो, कहिंयौं नेपालीका लागि कर्मथलो (दोश्रो घर) पनि हो तर हाम्रो सेरोफेरो उदण्ड मच्चाउने, शान्ति खलबलाउने अधिकार अमेरिकालाई छैन । आवरणमा लोकतन्त्र, शान्ति र अमञ्चयन जस्ता विषयलाई राखेर आफ्ना कथित निहित स्वार्थ परिपूर्तिका कुटीलता प्रदर्शन गर्ने, दवदबा बढाउन खोज्ने कार्य स्वयम् अमेरिकी लोकतन्त्र, शासन व्यवस्था र अमेरिकीहरुको साखको बर्खिलाप रहेको विषयहरु हुन् ।
९) कुनै पनि देशले अन्य देशका घरेलु मामलामा हस्तक्षेप गर्नु भनेको अनावश्यक द्वन्दलाई बढावा दिनु हो । द्वन्दले युद्धको रुप लियो भने आजको विश्वमा समग्र क्षेत्रलाई नै गम्भीर असर गर्दछ । युुक्रेन युद्ध जे कारणले भएता पनि आज त्यसको असर संसारभरी परेको छ । यसमा पनि अमेरिकाको उक्साहटलाई दोषीको रुपमा हेरिएको छ । ताईवान प्रकरण त्यस्तै अर्को अवस्था नबनोस् भन्नेमा सम्पूर्ण नेपालीहरु र यस क्षेत्रका देशहरु समेत सचेत हुनु पर्दछ ।
१०) अमेरिका र चीन बीच द्वन्द हुँदा, द्वन्दले चरम रुपमा परिणत हुँदा हाम्रा मित्र राष्ट्रहरु दक्षिण कोरिया, जापान समेत तानिने अवस्था स्पष्ट छ । यसले गर्दा क्षेत्रीय अशान्ति मच्चिने खतरा उत्तिकै टड्कारो रहेको प्रति सबैले होस् पुरयाउनु र सोही अनुसारको कुटनीतिक कृयाशिलता बढाउनु साथै सम्भावित अप्ठ्यारोका विरुद्ध बेलैमा दवाब पनि सृजना गर्नु शान्ति क्षेत्र नेपालको अहम कर्तव्य हो । भूराजनीतिक रुपमा सम्वेदनशिल विन्दूमा रहेको नेपाललाई भोली कुनै न कुनै बहानामा कसैले उक्साउदै लगेमा कठपूतली भई अनाहकमा छाती थाप्न पर्ने अवस्था सृजना हुनु नेपाल र नेपालीको हित प्रतिकूल त छ नै मित्र राष्ट्रहरुप्रति हामीले गर्नु पर्ने उचित कर्तव्य र जिम्मेवारी दीर्घकालिन दासत्वमा परिणत भए त्यसको दोष कसले लिने ?
अस्लामी राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव हुन्






