बुटवल,१७ साउन ।
नेत्र बिक्रम चन्द विप्लव निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत पर्ने सिटी क्याम्पस बुटवलमा चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।
अखिल (क्रान्तिकारी)ले मँगलबार बुटवलमा पत्रकार सम्मेलन गरी छात्रामाथी दुब्र्यवहार गर्ने प्राध्यापकहरुलाई बर्खास्त नगरेसम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको हो ।
लुम्बिनी बौद्ध विश्व विद्यालय अन्तर्गत सिटी क्याम्पस सुधार गर्ने बिषयमा विद्यार्र्थी पक्षसँग भएको ९ बुँदे सहमति रजिष्ट्रार, डिन र विश्वविद्यालयले पालना नगरेको र गैरजिम्मेवार भएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएको अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश संयोजक विज्ञान क्षेत्रीले बताए ।
९ बुँदे सहमतिमा छात्रामाथी दुब्र्यबहार गर्ने प्राध्यापकमाथी छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्ने र दोषी पाइए कारबाही गर्ने,विश्व विद्यालयको शैक्षिक विकासका माग सम्बोधन गर्ने, कोभिड महामारी समयको सेमेष्टर शुल्क सम्बन्धमा प्रयोगात्मक शुल्क समायोजन गर्ने, प्रयोगशाला, यातायातको व्यवस्थित व्यवस्था गर्ने, केही शिक्षकद्वारा विद्यार्थीमाथि अमर्यादित तथा विभिन्न बहानामा मानसिक यातना दिएको भन्दै अध्ययन कार्यदल गठन गर्ने जस्ता सहमति भएको थियो ।
संयोजक क्षेत्रीले सिटी क्याम्पसमा अध्यापन गराउने विवादित २ उपप्राध्यापकलाई बर्खास्त गर्नुपर्नेमा रजिष्ट्रारले उनीहरुलाई संरक्षण गरेको बताए ।
विद्यार्र्थीका जायज माग सम्बोधन गर्नुको सट्टा क्याम्पस प्रशासन गल्ती गर्ने प्राध्यापकलाई जोगाउने पक्षमा लागेकोले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनिहरुको भनाइ छ ।