काठमाडौं, १५ साउन । खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्निट्युडको भूकम्प गएको छ । आइतबार बिहान ८.१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

खोटाङको साकेला गाउँपालिका-५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो ।
केन्द्रकी प्रमुख मोनिका झाले खोटाङको मात्तिम बिर्ता केन्द्रविन्दु भएर ६ म्याग्निट्युडको भूकम्प गएको जानकारी दिइन् ।

यो गोरखा भूकम्पको पराकम्पन नभई छुट्टै भूकम्प भएको उनलेे बताइन् ।

खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामासम्म भूकम्पको धक्का महसुस भएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङले भने भूकम्पको कडा धक्का महसुस भए पनि क्षतिको विवरण आइनसकेको जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु रहेको गाउँपालिकाकी उपाध्यक्ष बिर्सिका राईले छोटो तर कडा धक्का आएको बताउदै हालसम्म क्षतिकाे विवरण नआएको बताइन् ।