काठमाण्डौ,५ साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
एसईईको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम भइरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।
सबै विवरण रुजु गरेर अन्तिम पटक पुनः जाँच गरेपछि आउँदो हप्ताको सुरुमै नतिजा सार्वजनिक गर्ने गरी तयारी भैरहेकाे अध्यक्ष शर्माले बताए । पालिका चुनावका कारणले पनि केही दिन नतिजा पर धकेलिएको उनको भनाइ छ ।
उनलेे शिक्षाका कर्मचारीदेखि उत्तर पुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक–शिक्षिका चुनावमा खटिएकाले उत्तर पुस्तिका परीक्षणमा पनि केही ढिला हुँदा नतिजा सार्वजनिक गर्न पनि केही दिन ढिलाइ हुन गएको प्रष्ट पारे ।
एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको बताउँदै कुनै समस्या नआए १० गतेभित्र र अन्यथा १२ गतेसम्म नतिजा सार्वजनिक गरिने बताए । उत्तर पुस्तिका परीक्षणको काम सम्पन्न गरी हाल सम्परीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले कम्प्युटरमा इन्ट्री गर्ने, रुजु गर्नेलगायत काम भइरहेको जानकारी दिए ।
कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गएको वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा लिएको थियो । दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका दुई लाख ५७ हजार नौ सय २४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार नौ सय ७७ परीक्षार्थीले परीक्षा दिएकाे परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिए । बोर्डले ६१ विषयमा परीक्षा सञ्चालन भएको थियो ।







