बुटवल,३० असार ।
जिम्मेवार पुरा नगर्ने पदाधिकारीलाई कारबाहीको दायरामा नल्याउदा नेपालमा सधै पाठ्यपुस्तक अभाव हुने गरेको सरोकारवालाहरुले बताएका छन् ।
अखिल क्रान्तिकारी रुपन्देहीद्धारा बिहीबार बुटवलमा आयोजित नेपालमा ‘सरकारी÷सामुदायीक शिक्षाको अवस्था र देशब्यापी पाठ्यपुस्तक अभाव’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागिहरुले उक्त कुरा बताएका हुन् ।

नेपालमा लामो समयदेखि पाठ्यपुस्तक अभाव हुँदै आए पनि सम्बन्धित निकायले समस्या समाधानमा चासो नदिदा विद्यार्थीहरुले समयमै किताव नपाउने समस्या रहेको भन्दै उनिहरुले जिम्मेवारी पुरा नगर्ने पदाधिकारीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
राज्यले आधारभूत तहको शिक्षा निशुल्क र अनिवार्य तथा १० कक्षा सम्मको शिक्षा निशुल्क गर्ने घोषणा गरे पनि सरकारी तथा सामुदायिक विद्यालयहरुमा समेत बिभिन्न बहानामा शुल्क लिने गरेको गुनासो गरे ।
उनिहरुले नेपालका शिक्षण संस्थामा अनेकन झमेला खडा गरेर जिम्मेवार निकायका पदाधिकारीहरु नेपाली विद्यार्थीहरुलाई विदेश पलायन गराउने षडयन्त्रको सहयोगि त भैरहेका छैनन् भनि प्रश्न गरे ।
अखिल क्रान्तिकारी रुपन्देहीका संयोजक पदम पराजुलीको अध्यक्षता र अखिल क्रान्तिकारीका पुर्व केन्द्रीय सचिवालय सदस्य तथा नेकपाका नेता बिरेन्द्र बिकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष गुनाखर भट्टराई,जिल्ला अध्यक्ष रेशम राज चालिसे,अखिल क्रान्तिकारीका प्रदेश इन्चार्ज विज्ञान क्षेत्री,जनमत संचार केन्द्र नेपालका अध्यक्ष प्रकाश खनाल,अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली लगायतले आ आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा कान्ति मावि बुटवलका प्रधानाध्यापक गोविन्द ज्ञवाली,कालिका मानवज्ञान माबिका प्रधानाध्यापक दिनेश थापा,ज्ञानोदय माविका शिक्षक इन्द्र थापा लगायतले भने राज्यले शिक्षामा लगानी नबढाएका कारण विद्यालयहरुले अभिभावकहरुसँग सहयोग उठाउनु परेको बताए ।
पछिल्लो समय अभिभावकहरु अंग्रेजी माध्यमको पठनपाठनतर्फ आकर्षित भएको भन्दै उनिहरुले अतिरिक्त कार्यक्रमका लागि अभिभावकहरुसँग सहयोग लिनुपरेको प्रष्टिकरण दिए ।







