-अधिवक्ता विमलराज भट्टराई
नेपालको प्रजातान्त्रिक आन्दोलनका धरोहर श्रद्धेय नेता कृष्णप्रसाद भट्टराईको जन्म विसं १९८१ पुस ८ गते पिता स्व. संकटाप्रसाद भट्टराई र माता स्व. ललितादेवीको कान्छो छोराको रूपमा भारतको बनारसमा भएको थियो । राणा प्रधानमन्त्री वीरसमशेरको बक्रदृष्टिमा परेपछि भट्टराई परिवार बनारस निर्वासनमा जान बाध्य भयो । त्यहीँबाट उहाँ राजनीतिमा अग्रसर हुनुभयो ।सन १९४२ को अंग्रेज बिरूद्ध आन्दोलनमा सक्रिय सहभागी भएर पहिलो पटक जेल पर्नुभएको थियो। त्यसपछि नेपालको निरंकुशता आन्दोलनमा १०४ वर्ष लामो निरंकुश राणा शासन समाप्त पारेर नेपाल मा प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले पहिलोपटक २००३ सालमा बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस गठन भयो । देवीप्रसाद सापकोटाको सभापतित्वमा बनेको उक्त समितिको महामन्त्रीको रूपमा रहेका भट्टराईले विसं २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसको महा़मन्त्रीको रूपमा जिम्मेवारी बांगर गर्नुभयो । राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस मिलेर नेपाली काग्रेस २००६ सालमा गठन भएपछि उहाँले सहमहामन्त्री पद समाल्नुभयो । २००७मा जनकपुर, उदयपुर कब्जा गर्ने मुक्तिसेनाको कमाण्डारको रूपमा रहनु भयो।

प्रजातन्त्र स्थापनापछि २००८ सालमा पहिलोपटक गठित सल्लाहकार सभाको अध्यक्ष हुनुभएका भट्टराई २०१६ सालमा प्रतिनिधि सभामुखको दायित्व सम्हाल्नुभएको थियो । २०१७ सालमा तरुण दलको समास्थलबाट तत्कालीन प्रधानमन्त्री बिपी कोइरालासँगै पक्राउ परेपछि भट्टराई निरन्तर १० वर्षसम्म जेल पर्नुभयो । यसरी पटक पटक गरी १४ वर्षभन्दा बढी समय जेलमा नै बिताउनुपरेको थियो । एक दशक लामो जेल जीवनबाट मुक्त हुने वित्तिकै २०२७ साल वैशाख ६ गते नेपाल विद्यार्थी संघको स्थापना समारोहको उद्घाटन गरी भट्टराईले ठुलो योगदान पुन्याउनुभयो । २०३४ सालमा सम्पन्न भएको पटना सम्मेलनबाट बिपी कोइरालाले स्वास्थ्यको कारण देखाई भट्टराईलाई नेपाली कांग्रेसको कार्यवाहक सभापति बनाउनुभयो ।
बिपीको निधनपछि २०३९ मंसिरमा गणेशमान सिंहको निवास क्षेत्रपाटीमा सम्पन्न सम्मेलनबाट पुनः कार्यवाहक सभापति हुनुभएका भट्टराई करिब डेढ दशक कार्यवाहक सभापतिको रूपमा नेपाली कांग्रेसको जिम्मेवारी सम्हाल्नुभयो । जनआन्दोलनको पार्टी सभापतिको रूपमा नेतृव गर्ने भट्टराई प्रजातन्त्रको पुनःस्थापना भएपछि अन्तरिम सरकारको प्रधानमन्त्री बनेर तोकिएै समयमा एक वर्षभित्र नै संविधान निर्माणा त्यसपछि निर्वाचन गराउन सफल हुनुभयो l उहाँ नेपाली कांग्रेस स्थापना कालदेखि नै बिपी, सुवर्णसमशेर र गणेशमान तीनैजना नेतासँग समानरूपले काम गर्दै आउनुभएको हो । नेपाली कांग्रेसको आन्तरिक कलह बढ्दै गएपछि २०५८ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेला उहाँकै नेतृत्वमा पार्टी विभाजन भएर नेपाली कांग्रेस प्रजातान्त्रिक रूपमा गठन भयो । त्यसपछि चिन्तित भएर उहाँ मौन बस्न थाल्नुभयो । सन्त नेता किशुनजी भनेर चिनिने कृष्णप्रसाद भट्टराईको २०६७ फागुन २० गते काठमाडौँमा देहावसान भएको थियो ।






