बुटवल,२१ चैत । लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लाको खजुरामा प्रदेश विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
उच्च शिक्षा परिषद्का परिषदका अध्यक्ष समेत रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद के.सीको अध्यक्षतामा आज बसेको बैठकले बाँकेको खजुरामा हाललाई कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विधालाई छनौट गर्ने र प्रस्तावित प्रदेश विश्वविद्यालयमा संगठनात्मक ढाँचा २ बमोजिम विश्वविद्यालयको संगठन ढाँचा कायम हुने गरी विश्वविद्यालय स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेकाे हो ।
बैठकले प्रदेश विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढाउन शिक्षा, विज्ञान, युवा तथा खेलकूद मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयले जनाएको छ ।

विश्वविद्यालयको स्थापना र सञ्चालन गर्ने गरी विश्वविद्यालय ऐन,२०७८ को दफा १३ बमोजिम र विश्वविद्यालय नियमावली, २०७८ को नियम ३ को उपनियम (१) अनुसार अनुसूची –२ बमोजिमको ढाँचामा विश्वविद्यालयको विधान तयारी गर्न समेत शिक्षा, विज्ञान, युवा तथा खेलकूद मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको मुख्यमन्त्री केसीका प्रेस संयोजक मानसिं बिकले जानकारी दिए ।
त्यस्तै विद्यालयका लागि बाँके जिल्लाको खजुरामा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारले चालू आर्थिक बर्ष २०७८/०७९ काे वजेटमा पाँच करोड बजेट विनियोजन गरेको जनाइएको छ ।

बैठकमा परिषदका सहअध्यक्ष समेत रहेका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रि वसीउद्दिन खाँ,सदस्य तथा प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री,सदस्य,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नरेन्द्र कुमार राना,सदस्य,आर्थिक मामिला तथा सहकारी मन्त्रालयका सचिव नारायण प्रसाद सापकोटा,सदस्य तथा शिक्षा, विज्ञान, युवा तथा खेलकूद मन्त्रालयका सचिव कृष्ण प्रसाद पन्थ तथा आमन्त्रितमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्का,मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी र कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाकाे सहभागीता रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयले जनाएको छ ।