पाल्पा,२१ चैत ।
श्रम,रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेँगाले पाल्पाको तानसेन नगरपालिका–७,ठाँटीमा सवारी चालक परीक्षण केन्द्र (ट्रायल सेन्टर) काे शिलान्यास गरेकी छन् ।
यातायात व्यवस्था सेवा कार्यालय पाल्पा अन्तर्गत रहने सवारी चालक परीक्षण केन्द्रको शिलन्यास गर्दै मन्त्री ढेंगाले पहाडी जिल्ला पाल्पामा पहिलो पटक भएको ट्रायल सेन्टरबाट पाल्पा, गुल्मी, स्याङजा,अर्घाखाँचीका बासिन्दालाई फाइदा पुग्ने बताइन् ।
उनले बाँसटारीदेखि ठाँटी क्षेत्रकै विकासका लागि मात्र नभई पहाडी जिल्लामा यसरी योजना संचालन हुँदा सबैले खुसी मान्नुपर्ने बताइन् ।
उनले यसवर्ष ५० लाख भएपनि अर्को वर्ष ३ करोड ५० बजेट विनियोजन गरेर साना ठूला दुबै सवारी साधनको ट्रायल यहीबाट गर्न सकिने बनाइने बताइन् । जग्गा व्यवस्थापन भइसकेकाले अब विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर भवनको पनि ठेक्का लगाउने तयारी भएको जानकारी गराइन् ।
बाँसटारी क्षेत्रमा प्राप्त भएको जग्गामा भवन र सवारी चालक परीक्षण केन्द्र संचालन हुँदा विकाससँगै रोजगारी पनि वृद्धि हुने उनलेे बताइन् ।
कार्यक्रममा तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले जनताले चाहे अनुसारकै क्षेत्रमा सवारी चालक परीक्षण केन्द्र र यातायात व्यवस्था सेवा कार्यालय संचालन हुने बताए । उनले जग्गा व्यवस्थापनमा कुनै समस्या नहुने भएकाले काम अघि बढाउन मन्त्रालयलाई आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले समयमै निर्माण भएर यसबाट पहाडी जिल्लाका बासिन्दाले फाइदा लिनुपर्ने बताए । उनले जग्गा व्यवस्थापनका लागि सहज रुपमा नै भएकाले पनि छिट्टै काम सुरु हुने बताए ।
नेपाली काँग्रेस जिल्ला सभापती हिमालदत्त श्रेष्ठले कुनै पनि विषयको विश्वविद्यालय र पर्यटकीय क्षेत्र बनाउन प्रदेश सरकारले वजेट विनियोजन गर्न माग गरे ।

माओवादी केन्द्रका संयोजक नेत्रप्रसाद पाण्डेयले जनतालाई सहज ढंगले काम गर्ने गरी कार्यालयले काम गर्नुपर्नेमा जोड दिए ।

नेकपा एमाले पाल्पाका सचिवालय सदस्य नविन थापा मगरले यस क्षेत्रमा भएको कामले गर्दा आगामी दिनमा अझ राम्रो क्षेत्र बन्ने बताए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका मोहन गैरे, जनता समाजवादी पार्टीका प्रवक्ता खिक बहादुर रेश्मी, श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव दीपक नेपालले भवन निर्माण भएपछि र ट्रायल सेन्टर संचालन हुँदा यस क्षेत्र नै गुल्जार बन्ने बताए ।

त्यस्तै तानसेन नगरपालिका–७ का वडाध्यक्ष मुक्तिराम जीसी, पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष भीम बहादुर श्रेष्ठ, याताया व्यवस्था सेवा कार्यालय पाल्पाका पूर्व कार्यालय प्रमुख विष्णु प्रसाद खनाल, पत्रकार माधव अर्याल, बंशगोपाल युवा क्लबका अध्यक्ष प्रदीप खनाल लगायतले ट्रायल सेन्टरले यस क्षेत्रमा आर्थिक स्तरमा सुधार ल्याउनुका साथै रोजगारमा समेत वृद्धि हुने भएकाले समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह गरे ।
कार्यक्रम श्रम,रोजगार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव दीपक नेपालको अध्यक्षता, वडाध्यक्ष मुक्तिराम जीसीको स्वागतमा सम्पन्न भएको हो ।