सर्लाही,१३ चैत । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर खोलाको पुलमा आइतबार मध्यान्ह बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । वीरगञ्जबाट जनकपुरका लागि छुटेको ना ४ ख ८५५५ नम्बरको बस लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित पुलबाट तल खसेर दुर्घटना भएको हो।दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि लालबन्दीको मोडेल र गढिमाई अस्पताल ल्याइएको स्थानीयले बताएका छन् ।

घाइतेमध्ये चार जनालाई चिकित्सकले मृत घोषणा गरेको सर्लाहीका ट्राफिक प्रहरी प्रमुख एवम् ट्राफिक प्रहरी निरीक्षक केदारमान दोङले जानकारी दिए । मृतकहरुको हालसम्म सनाखत हुन नसकेको र घाइतेको उद्धार गरी लालबन्दीका विभिन्न अस्पतालमा ल्याइएको ट्राफिक प्रहरी निरीक्षक दोङले बताए ।

गम्भीर घाइतेलाई लालबन्दीबाट अन्यत्र रेफर गर्ने क्रम भइरहेको अस्पतालले जनाएको छ । दुर्घटनाको कारण अझै खुल्न नसकेको प्रहरीको भनाइ छ ।

घटनामा बस चालक घाइते भएको प्रहरीले जनाएको छ ।