तनहुँ,७ चैत । नाबालिकामाथि जबरजस्ती करणी अभियोगमा पक्राउ परेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान सकिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर सुझावसहितको प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालय तनहुँमा बुझाएको हो ।

२१ दिन लामो अनुसन्धानपछि प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदन आज सरकारी वकिल कार्यालयमा पेस गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रतिवेदन पेस गरिए पनि अनुसन्धानकाे काम प्रहरी र सरकारी वकिल दुवैको समन्वयमा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले जानकारी दिए ।

प्रहरीबाट प्राप्त अनुसन्धान सम्बन्धि कागजात रुजु गर्ने काम भइरहेको सरकारी वकिल कार्यालय तनहुँका सरकारी वकिल रामचन्द्र शर्माले बताए । अनुसन्धानमा केही छुटेको भए फेरि प्रहरी कहाँ पठाउनुपर्छ, यदि अनुसन्धान कार्य पूरा भएको देखिएमा शाहविरुद्ध अभियोग अदालतसमक्ष पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

उता जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले पनि शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको बताइएको छ ।