संखुवासभा,२६ फागुन ।
संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले दुर्घटनामा हालसम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिए । ‘१४ जनाको लाश भेटिएको छ, ५ जना घाइते भएका छन्,’ सुवेदीले भने, ‘मृतकको सनाखत भएको छैन ।’

दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।

एकजना बच्चा हराइरहेको भनेर आफन्तले भनिरहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि सदरमुकाम चैनपुर लगिएको छ । गम्भीर घाइतेहरुलाई सुविधासम्पन्न अस्पतालमा लैजान हेलिकप्टरको व्यवस्था गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए ।