काठमाण्डौ,२१ फागुन ।
राष्ट्रिय सभाका नवनिर्वाचित १९ जना सांसदहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
शनिबार सिंहदरवार स्थित संसद सचिवालयमा आयोजित कार्यक्रममा उनले नवनिर्वाचित सांसदहरुलाई संघीय संसदको लोगो पनि प्रदान गरेका थिए ।
१९ जना राष्ट्रिय सभा सदस्यका लागि गएको माघ १२ गते चुनाव भएको थियो ।
चुनावमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद पौडेल, गोपालकुमार बस्नेत, कमल पन्त, युवराज शर्मा, नारायणदत्त मिश्र र दुर्गा गुरुङ राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए भने नेकपा (माओवादी केन्द्र)बाट उर्मिला अर्याल, सुरेश आलेमगर, नरबहादुर विष्ट, भुवनबहादुर सुनार र जगतबहादुर पार्की निर्वाचित भएका थिए । त्यस्तै नेकपा (एकीकृत समाजवादी)बाट जयन्ती राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, मदनकुमारी शाह र उदयबहादुर बोहोरा निर्वाचित भएका थिए ।
नेकपा (एमाले)बाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।






