एमसीसीमा कम्युनिस्टले दोहोरो भूमिका खेलेर नागरिकलाई उत्तेजित बनाएको आरोप
काठमाण्डौ,२० फागुन ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने बताएका छन् ।
शुक्रबार नेपाली कांग्रेस मादी गाउँपालिका कार्यसमिति कास्कीद्वारा आयोजित दुई दिवसीय अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्दै महामन्त्री थापाले उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने बताएका हुन् ।
कम्युनिस्ट पार्टीहरुले उत्तेजनाको राजनीति गरिरहेको बताउदै उनले एमसीसी सम्झौताको बिषयमा पनि कम्युनिस्ट पार्टीहरुले दोहोरो भूमिका खेलेर नागरिकलाई उत्तेजित बनाएको आरोप लगाए ।
जनताबीच कांग्रेसको परिचय फरक रहेको उल्लेख गर्दै महामन्त्री थापाले कांग्रेसले सधैँ उत्तेजना फैलाउने नभइ चेतना फैलाउने, भड्काउने नभइ मिलाउने जस्ता चरित्र देखाउँदै आएको बताए ।
महामन्त्री थापाले उम्मेदवार टुङ्ग्याउने जिम्मा महानगरको हकमा महानगर र जिल्लाको सिफारिसमा केन्द्रले टुङ्ग्याउने र अन्यका हकमा प्रदेश, नगर, क्षेत्र र जिल्लाले टुङ्ग्याउने गरी केन्द्रले कार्यविधि ल्याउन लागेको जानकारी गराए ।
आउँदो निर्वाचनमा ठूलो वा सानो जोसुकै नेता भए पनि उसले आफ्नो टोललाई सम्हाल्ने जिम्मा लिनुपर्ने उनको भनाई थियो ।






