काठमाण्डौ,२० फागुन ।
प्रेस काउन्सिल नेपालले आचार संहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराएको छ भने दर्ता र सूचीकरण नभएका १० वेब पोर्टलहरूलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेको छ ।
यस्तै कुनै मिडियाअन्तर्गत आबद्ध नभएका १६ युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा सिफारिस गरिएको पनि प्रेस काउन्सिलले जनाएको छ ।
प्रेस काउन्सिल नेपालले आज एक प्रेस विज्ञप्ति जारी गरी उक्त कुराको जानकारी गराएको हो ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतद्धारा जारी विज्ञप्तिमा पछिल्लो समय एक अभिनेता र एक गायिकाका विषयमा विभिन्न सञ्चारमाध्यम एवम् सामाजिक सञ्जाल (युट्युब) बाट सम्प्रेषण भएका सामग्रीहरूप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकषर्ण भएको जनाउदै आचार संहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराएको, दर्ता र सूचीकरण नभएका १० वेब पोर्टलहरूलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेको र कुनै मिडियाअन्तर्गत आबद्ध नभएका १६ युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा सिफारिस गरिएको उल्लेख छ ।
अध्यक्ष बस्नेतले विभिन्न सञ्चार माध्यम, वेबपोर्टल र खासगरी युट्युब समेतबाट व्यक्तिगत गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरी नाम, तस्बिर, भिडियो सामग्री सम्प्रेषण गर्ने, न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रियामा प्रभाव पर्ने किसिमबाट आरोपी र जाहेरीवालाको पक्ष–विपक्षमा सामग्री सम्प्रेषण भइरहेका तथ्यहरू फेला परेको बताएका छन् ।
त्यस्तै विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषित सामग्री अध्ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरूको पक्ष÷विपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ५(११), ५(४) र ४(९) को ठाडो उल्लंघन भएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
अध्यक्ष बस्नेतले अनलाइन टीभी, युट्युुब च्यानलमा सम्प्रेसित सामग्रीबारे प्रेस काउन्सिल नेपालमा उजुरी र गुनासाहरू बढिरहेको बताउँदै यसको नियमन र व्यवस्थापनका लागि सुझाव दिन एक कार्यदल गठन गरिएको जानकारी समेत दिए ।
काउन्सिलले पत्रकार आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चारजगतलाई आग्रह गरेको छ ।






