काठमाडौं,२० फागुन । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले आफ्नो २१औं वार्षिक प्रतिवेदनको मस्यौदा पारित गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले २१औँ वार्षिक प्रतिवेदन पारित गरेको हो । समितिले गरेका काम कारबाहीहरूको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले मस्यौदा प्रतिवेदन पारित गरिएको बैठकपछि समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
यो वर्षभरी समितिले गरेका काम कारबाहीहरूमा मूलभूत रुपमा बेरुजु फर्छ्यौट गर्ने नौ वटा उपसमितिहरुले गरेका कामहरु समावेश गरिएको उनलेे बताए । समितिले गण्डकी प्रदेशमा पर्ने कालीगण्डकी करिडोर लगायत त्यस आसपासमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुको निरिक्षण गरी त्यसको प्रतिवेदन प्राप्त भएको उपसमितिले पेश गरेको प्रतिवेदन समेत यसमा समावेश गरिएको जनाइएको छ ।
समितिको उक्त प्रतिवेदन अनुमोदनका लागि सदनमा पेश गर्नका लागि प्रस्ताव गर्ने पनि सचिव पाण्डेले बताए । यसअघिफास्ट ट्रयाकसम्बन्धीको प्रतिवेदनमाथि नेपाली सेनाले पुनः विचारको लागि रक्षा मन्त्रालयमा अनुरोध गरेको थियो । अहिले उक्त प्रतिवेदन समितिमा विचारधीन अवस्थामा रहेको छ ।






