काठमाडौं,१९ फागुन । सत्तारुढ गठबन्धनले संसदको अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेको छ । बिहीबार बालुवाटारमा बसेको गठबन्धन बैठकले संसदको अवरोध अन्त्य गर्न नेकपा एमालेलाई आग्रह गरेको हो ।

लामो समयसम्म संसद अवरोध हुँदा संसदबारे जनतामा नकारात्मक धारणा बन्नसक्ने भएकाले प्रमुख प्रतिपक्षी दललाई सदन सञ्चालन गरेर पर्याप्त छलफल गर्ने वातावरण बनाउन आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

साथै, बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवाले संसदबाट एमसीसी अनुमोदन गराउन सहयोग गरेकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई धन्यवाद दिएकाे बताइएको छ ।

गठबन्धन बैठकमा एमसीसी अनुमोदनपछिको राजनीतिक अवस्था बारे छलफल भएको थियो । प्रवक्ता कार्कीका अनुसार बैठकमा सरकारका नियमित कामकारबाही, स्थानीय निर्वाचनको तयारी र संसदका नियमित कामबारे छलफल भएको थियो । बैठकमा स्थानीय निर्वाचनमा चुनावी तालमेलको सन्दर्भमा पनि छलफल भएको प्रवक्ता कार्कीले बताए ।

गठबन्धनका अपरिहार्यता महसुस भए पनि चुनावी तालमेलबारे दलहरूभित्र आन्तरिक बहस भएर निष्कर्षमा पुग्नुपर्ने कार्कीकाे भनाइ छ ।