काठमाडौं,१७ फागुन । नेपालमा मंगलबार थप १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर चार हजार ४५८ पीसीआर परीक्षण गर्दा ९२ जना र दुई हजार ४६ एन्टिजेन परीक्षण गर्दा ६६ जना गरी १५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ५२९ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३५४ जना कोरोना संक्रमित निकाे भएका छन भने दुई जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ९ लाख ५७ हजार १६७ जना काेराेना संक्रमित निकाे भएका छन् भने ११ हजार ९३८ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या सात हजार ९७१ रहेको छ । जसमध्ये ७ हजार ७७३ जना होम आइसोलेसनमा रहेका छन् भने १९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ७५ जना आईसीयू र ८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका बालबालिकामा कोरोना संक्रमण शून्‍यमा झरेको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५ जना कोरोना संक्रमित थपिएका छन् ।