काठमाडौं,१७ फागुन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीको महान् पर्व महाशिवरात्रिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत महाशिवरात्रि हिन्दूहरूको पर्व भए पनि नेपालमा सबै धार्मिक समुदायले श्रद्धापूर्वक मान्ने गरेको उल्लेख गर्दै नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको बताए ।
हरेक जातजातिका आआफ्ना रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्दै अपनत्व महसुस गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको शुभकामना सन्देशमा उल्लेख छ । नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रूपान्तरण गर्ने प्रयासमा सरकार निरन्तर क्रियाशील रहेको तथा नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं संवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको सन्देशमा जनाइएको छ ।
राष्ट्रिय एकता र संस्कृतिको पर्व महाशिवरात्रिले नेपालीबीच आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्याएका उनको भनाइ थियो । महाशिवरात्रिले राष्ट्रिय एकताको आधार स्तम्भको रूपमा स्थापित भएको उल्लेख गर्दै उनले धार्मिक पर्वहरूको माध्यमबाट मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।






