काठमाडौ,१२ फागुन ।
प्रतिनिधि सभाको बैठक सुरु हुनलाग्दा काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोध गर्दै प्रदर्शन सुरु भएको छ ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठन सहित बिभन्न राजनीतिक दलले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

उनीहरूले बिहीबार निषेधित क्षेत्र तोडेर संसद् भवन घेराउ गर्ने बताएका छन् । त्यस्तै अर्को दल नेकपा समाजवादीका जनवर्गीय संगठन अनेरास्ववियुले पनि एमसीसीको विरोधमा मीनभवनबाट विरोध र्याली निकाल्ने र संसद् भवन घेराउ गर्ने तयारी गरेको अध्यक्ष सुदेश पराजुलीले बताएका छन् ।
सत्तारुढ दलका जनवर्गीय संगठनबाहेक विप्लव समूह, क्रान्तिकारी माओवादीलगायतका ६ राजनीतिक दलहरूले पनि बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने जनाएका छन् । राजावादी पार्टी राप्रपा सहित राष्ट्रिय जनमुक्ति पार्टी,नेपाली कांग्रेस बीपीले पनि एमसीसीको विरोधमा प्रदर्शन गर्दै आएको छ । विरोध प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर आसपासका सडकमा प्रशासनले सुरक्षा तैनाथी बढाएको छ । बानेश्वर क्षेत्रमा मात्रै प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा २४ सय प्रहरी खटाएको महानगरीय प्रहरीले जनाएको छ ।






