काठमाण्डौ,१० फागुन ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

भेटमा अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल भइसकेको अवस्थामा त्यसलाई पास गराउन प्रधानमन्त्री देउवाले ओलीको साथ खोजेको बताइएको छ ।
माओवादी र एकीकृत समाजवादीले एमसीसी पास भएमा सत्ता छाड्नेसम्मको धम्की दिन थालेपछि देउवा एमाले अध्यक्ष ओलीसँग निरन्तर छलफलमा छन् ।

एमसीसी प्रतिनिधि सभामा टेबल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अनुमोदनका लागि बहुमत जुटाउने गृहकार्यमा जुटेका छन् । उनले सत्ता साझेदार दलसँगै विपक्षी एमालेसँगको छलफललाई पनि निरन्तरता दिएका छन् ।

संसद्को ठूलो दल एमाले एमसीसीको पक्षमा नखुले पनि विपक्षमा मतदान नगर्ने प्रधानमन्त्री देउवाको विश्वास छ । तर यसबारे एमालेले औपचारिक धारणा सार्वजनिक गरेको छैन । सभामुखले १४ सांसदमाथि कारबाहीको सूचना टाँस नगरेको भन्दै एमालेले निरन्तर संसद् बैठक अवरोध गर्दै आएको छ । एमसीसी टेबल भइसकेपछि सभामुख सापकोटाले छलफलको दिन तोक्नुपर्नेमा दिन तोकिएको छैन ।