काठमाण्डाै,८ फागुन ।
केही सांसदहरूकाे बिराेधका बाबजुद अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ । आज बसेकाे प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता टेबल गरेका हुन् ।

सम्झौता टेबल भैरहँदा एमाले सांसद भीम रावल, एकीकृत समाजवादीका सांसद झलनाथ खनालसँगै माओवादी केन्द्रका नेता देव गुरूङ लगायतका सांसदहरुले उठेर बिरोध जनाएका थिए । एमालेले आजको बैठकमा पनि नाराबाजी गरेको थियो । यसअघि सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एमसीसी सम्झौता टेबल गर्ने सहमति भएको थियो । यससँगै एमसीसीबारे दलहरुबीचको मतभेद औपचारिक रुपमै संसदमा प्रवेश भएको छ ।

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले २०७६ असार ३० गते सम्झौता अनुमोदनको प्रक्रियामा लैजान भन्दै संसद सचिवालयमा दर्ता गराएका थिए । त्यतिबेला सत्तारुढ दल नेकपाभित्रै विवादका कारण अनुमोदन प्रक्रिया अघि बढ्न सकेको थिएन ।

संसदमा एमसीसी टेवल भैरहदा त्यसको बिराेधमा काठमाडौंकाे नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको थियोे ।