काठमाडौं,६ फागुन ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले ५०१ जना कैदीबन्दीको कैद सजाय मिनाहा दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् ।

प्रकाश शेर्पा फिनासा भन्ने फुर्वा शेर्पासमेत ५०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो ।

यसैगरी आङनिमा शेर्पासमेतका १२ जनाको समेत विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद, जरिवाना, सर्वस्वलगायत सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।