
काठमाण्डौ,६ फागुन ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताएकी छन् ।
शुक्रवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री झाँक्रीले राजनीतिक प्रणालीको रक्षाको लागि चाहेर वा नचाहेर गठबन्धन बनेको बताउदै नेपालको आन्तरिक राजनीतिमा किचलो गर्नका लागि एमसीसी जस्ता विषयहरु ल्याइएको टिप्पणि गरिन् ।
आफू मन्त्रिपरिषद्को सदस्य रहेको नाताले एमसीसी लगायतका बिषयमा प्रधानमन्त्रीको धारणा मन्त्रीपरिषद् सदस्य रहुन्जेलसम्म आफ्नो पनि धारणा हुने बताउदै मन्त्री झाँक्रीले एमसीसी जस्ता देशका लागि किचलो बनाउने विषयहरुबाट सरकार टाढा रहनु उचित हुने बिचार ब्यक्त गरिन् ।
‘एमसीसी लगायतका इस्यूहरु पहिलादेखिका सरकारले सिर्जना गरेको दायित्व हो । त्यसमा अन्तर्राष्ट्रिय कमिटमेण्टहरु छन् नेपालको तर्फबाट । प्रधानमन्त्री को भयो, अर्थमन्त्री को भयो, योजना आयोगको उपाध्यक्ष को भयो ? त्यसले धेरै कुराको निर्धारण गर्दैन । नेपालको कमिटमेण्ट हो । त्यसप्रतिको दायित्व नेपाल सरकारले लिनुपर्ने भएकोले प्रधानमन्त्रीले आफ्ना धारण राखिरहनु भएको छ’ मन्त्री झाँक्रीले भन्नुभयो ’ म प्रधानमन्त्रीको मन्त्रिपरिषद्को एउटा सदस्य भएकोले प्रधानमन्त्रीले राखेको धारणा भन्दा बाहिरको धारणा राख्न उपयुक्त हुँदैन । यी विषयहरु नेपालको डोमेस्टिक पोलिटिक्समा अनावश्यक ढंगले किचलो हाल्नका लागि ल्याइएका विषयहरु हुन् । यी विषयबाट अलग रहनु, सचेत हुनु, राष्ट्रको हित र क्रेडिबेलिटीमा सचेत हुनु जरुरी छ ।’
त्यस्तै सत्तारुढ दल नेपाली काँग्रेसका सांसद डा. शशांक काइरालाले एमसीसी पारित गर्नुपर्ने बताए । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको भन्दै कोइरालाले एमसीसी पास भएमा अहिलेको गठबन्धन टुट्नेमा दुई मत नरहेको दाबीसमेत गरे ।





