बुटवल,५ फागुन ।
अवसर पाए अपाङ्गता भएका व्यक्तिहरुले पनि सवालङ्ग सरह काम गर्न सक्ने सरोकारवालाहरुले बताएका छन् ।
फाउण्ड परियोजना बुटवल क्लस्टरद्धारा बिहीबार बुटवलमा आयोजित ‘रोजगारविहिन अपाङ्गता भएका व्यक्तिहरुका लागि उर्जाशिल अवसर’ बिषयक सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्ने सरोकारवालाहरुले उक्त कुरा बताएका हुन् ।
अपाङ्गता भएका व्यक्तिहरुको उर्जाशिल अवसर आवश्यकता रहेको बताउँदै उनिहरुले त्यसका लागि सञ्चार क्षेत्रको सहयोग र भूमिका महत्वपूर्ण हुने बताए ।
‘रोजगारविहिन अपाङ्गता भएका व्यक्तिहरुका लागि उर्जाशिल अवसर’ सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा परियोजनाको परिचय,उद्देश्य र उपलब्धीहरु सार्वजनिक गर्दै अपाङ्गता भएका व्यक्तिहरुको अवसर र प्रोत्साहनका लागि सञ्चार क्षेत्रको साथ र सहयोग आवश्यक रहेको भन्दै सहकार्य गर्न सञ्चारकर्मीहरुसँग आग्रह गरेको छ ।
कार्यक्रममा परियोजनाका राष्ट्रिय निर्देशक शोभाखर कंडेलले परियोजनाले हालसम्म १० हजार भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरुलाई अवसर तथा रोजगार व्यवस्थापन गरेको बताए । उनले भने ‘हामीले हालसम्म १० हजार बढीलाई व्यवस्थापन गरिसकेका छौं भने १५ हजार बढीलाई पहिचान तथा वर्गीकरण गरेका छौं । हाम्रो यस कार्यमा सञ्चार र सञ्चारकर्मीको भूमिका पनि महत्वपूर्ण हुन्छ । त्यसैले सञ्चारकर्मीहरुले अपाङ्गता क्षेत्रमा थप कलम चलाउन अनुरोध गर्दछौं ।’
देशका ५ औद्योगिक शहरबाट अपाङ्गताका क्षेत्रमा काम गर्दै आएको परियोजनाले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान,वर्गिकरण,प्रशीक्षण र व्यवस्थापन गर्दै आएको जनाएको छ । परियोजनाले लक्षित जिल्लामा रहेका अपाङ्गहरुको पहिचान र वर्गिकरण गरी उनीहरुको अवसरका लागि रोजगारदातासँग सहकार्य गर्दै आएको परियोजनाका बुटवल क्लस्टर म्यानेजर राम दयाल यादवले बताए ।
त्यसैगरी परियोजनाका व्यवसाय वित्त अधिकारी ढाकाराम अधिकारीले अपाङ्गताप्रति सकारात्मक सोँचको विकास, औपचारिक तथा स्वरोजगार जस्ता विषयमा परियोजना केन्द्रित रहेको बताउँदै अपाङ्गता साझा सवाल हुनाले सञ्चारकर्मीहरु र परियोजनाको सहकार्य आवश्यक रहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले शारीरिक रुपमा कमजोर भएता पनि उल्लेख्य सक्रियता र सफलता हासिल गरेको बताउँदै रुपन्देहीका सञ्चारकर्मीहरुले उनीहरुका विषयमा कलम चलाउँदै आएको बताए ।
अपाङ्गता भएका व्यक्तिहरुमा पनि विशेष क्षमता हुने भन्दै उनले आगामी दिनमा रुपन्देहीका संचारमाध्यमहरुमा अपाङ्गता सम्बन्धी सामग्रीहरु बढ्ने विश्वास ब्यक्त गरे ।
रुपन्देहीका ४० बढी सञ्चारकर्मीको सहभागिता रहेको कार्यक्रममा परियोजनाकी रोजगार परामर्श दाता राधा भट्टराईले सहजीकरण गरेकी थिइन् ।
फाउण्ड परियोजनाले रुपन्देहीमा अपाङ्गता भएका हजार बढीको पहिचान गरी ६ सय बढीलाई वार्षिक रोजगारको व्यवस्था गरेको जनाएको छ ।






