बुटवल,४ फागुन ।
नेकपा क्रान्तिकारी माओवादी सहित बिभन्न दलहरुले आह्वान गरेको आजको नेपालबन्द सकिएसँगै जनजिवन बिस्तारै सामान्य बन्दै गएको छ ।
साँझ पाँच बजेबाट बन्द खुलेसँगै बुटवल लगायत देशभरबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन गन्तब्यतर्फ लागेका छन् ।
मोर्चाले आह्वान गरेको नेपाल बन्दको प्रभाव बुटवलमा आंशिक परेको थियो । प्रहरीले बन्द गराउँदै हिड्ने बुटवलसहित देशका विभिन्न स्थानबाट १४८ जनालाई पक्राउ गरेको थियो ।
अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोध मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बुधबार देशव्यापी बन्द आह्वान गरेका थिए ।
सरकारले एमसीसी संसदमा पेश गर्ने तयारी गरिरहेका बेला त्यसको विरोधमा नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपको स्थिति आएपछि प्रहरीले दश राउण्ड अश्रुग्यास प्रहार गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार १५ प्रहरी र दुई जना प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये चार जनाको वीर अस्पतालमा उपचार भइरहेको छ ।
१४८ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्दका क्रममा राजधानी काठमाण्डौको नयाँ बानेश्वर क्षेत्र आज बिहानैदेखि तनावग्रस्त बनेको थियो ।






