कपिलबस्तु,४ फागुन ।
कपिलवस्तुको सदरमुकाम तौलिहवामा यातायात व्यवस्था सेवा कार्यालय स्थापना भएको छ ।
सेवा कार्यालयको बुधबार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका भौतिक पूर्वधार विकास मन्त्री सहसराम यादव र श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेगामगरले संयूक्त रुपमा उद्घाटन गरेका हुन् ।
सो अवसरमा बोल्दै श्रम,रोजगार तथा यातायात ब्यवस्था मन्त्री ढेगामगरले सेवाग्राहीलाई सहजताको लागि कपिलबस्तुमा सेवा कार्यालयको स्थापना गरिएको बताउदै आगामी दिनमा सवारी चालक अनुमतिपत्र वितरण र नवीकरण समेतको सेवा विस्तार गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।
जनतालाई नजिकबाट सेवा उपलब्ध गराउने संघियताको मर्म भएको भन्दै मन्त्री ढेँगा मगरले संघीयताको कार्यान्वयन गर्ने क्रममा प्रदेश सरकारले कपिलबस्तुमा पनि यातायातको सेवा कार्यालय शुभारम्भ गरिएको बताइन् ।
त्यस्तै भौतिक पूर्वधार विकास मन्त्री यादवे सेवा कार्यालयका लागि आवश्यक पर्ने जनशक्ति, जग्गाको व्यवस्थापन गर्न लुम्बिनी प्रदेश सरकारले बजेट उपलब्ध गराउने बताए ।
जिल्लामा शिक्षा स्वास्थ्य, भौतिक पूर्वधारलगायतको क्षेत्रमा छोटो समयमा उल्लेखनीय काम गर्न सफल भएको भन्दै मन्त्री यादवले कपिलवस्तुको विकासका लागि आगामि दिनमा थप बजेट ब्यवस्थापन गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
कपिलबस्तु जिल्ला धार्मिक एवम् पुरातात्वीक रुपमा भरीपूर्ण रहेको भन्दै उनले कपिलवस्तु नगरपालिकालाई सांस्कृतिक नगरपालिकाको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
उनले भने “कपिलवस्तुमा संग्रहालयको व्यवस्थापन गरेर यहाँ रहेका धरोहर, सास्कृतिलाई व्यवस्थापन गरेर सांस्कतिक राजधनी बनाउने अठोट प्रदेश सरकारले लिएको छ ।”
श्रम,रोजगार तथा यातायात ब्यवस्था मन्त्रालयका सचिब दीपकराज नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री धर्म बहादुरलाल श्रीवास्तवले जिल्लाको विकासका लागि सबै एक जुट भएर लाग्नुपर्ने बताए ।
कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले कार्यालयले सुशासन कायम गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।
सेवाका कार्यालयबाट हाल विलबुक नविकरण, रुट परमिट, सवारी जाँच पास, पटके सेवा (अस्थाई रुट ईजाजत) लगायतको सेवा उपलब्ध हुने कार्यलयका प्रमुख राजन केसीले जानकारी दिए ।
मन्त्रालयले यसअघि फागुन १ गते नवलपरासीमा पनि यातायात सेवा कार्यालय स्थापना गरेको थियो ।






