काठमाण्डाै,४ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको विरोधमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच काठमाडौंमा झडप भएको छ ।
झडपका कारण काठमाण्डौको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा पार गरेर प्रदर्शनलाई अघि बढाएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।

यस्तै मीन भवनतर्फको प्रवेशद्वारबाट संसद् भवनभित्र पस्न खोज्ने प्रदर्शनकारीहरूलाई प्रहरीले पानीको फोहोरा हानेको थियो ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा) लगायत दलका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले आज बुधवार बिहानैदेखि माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण माइतीघर–तीनकुने सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ ।