काठमाडौं,४ फागुन ।
आजको प्रतिनिधि सभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी पेश नहुने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचकाे छलफलमा आज बस्ने संसद्को बैठकमा एमसीसी पेश नगर्ने सहमति भएको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार भोलि ३ बजे गठबन्धनका नेताहरुको बैठक बस्ने सहमति भएको छ । एमसीसीबारे सो बैठकले थप निर्णय गर्ने बताइएको छ ।
नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा उभिने निर्णय गरेलगत्तै अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । माओवादी केन्द्रले एमसीसी जबरजस्ती अघि बढाउन खोजे गठबन्धन तोडिने चेतावनी दिएको छ ।






