काठमाण्डौ,२८ माघ ।
बुटवल–नारायणघाट सडक खण्डमा डीपीआरमा उल्लेख गरिएको भन्दा बढी रुख काट्न स्वीकृति दिनेमाथि छानबिन गर्न संसदीय समितिले निर्देशन दिएको छ ।
डीपीआरमा उल्लेख गरिएको भन्दा बढी रुख काटिएको भन्दै समितिले बढी रुख काट्न गलत आँकडा पेस गर्ने र काट्न स्वीकृति दिनेमाथि छानबिन गर्न निर्देशन दिएको हो ।
आज शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रतिनिधि समितिको बैठकले बुटवल–नारायणघाट सडक खण्डका दुवै प्याकेजमा डीपीआरमा उल्लेख गरिएभन्दा बढी रुख काट्नेमाथि छानबिन गरी प्रतिवेदन पेस गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । आयोजनाको काम नै प्रभावित हुने गरी गलत आँकडा पेस गरिएको समितिको ठहर छ ।
बुटवल–नारायणघाट सडक खण्डका दुवै प्याकेजमा स्वीकृति दिएको डीपीआरमा उल्लेख भएको भन्दा क्रमशः ५७६ प्रतिशत र ४४० प्रतिशत रुख काटिनुपर्ने कारणले आयोजनाको काममा ढिलाइ भएको भन्ने तथ्य पेस भएको सन्दर्भमा आयोजनाको काम नै प्रभावित हुने गरी गलत आँकडा पेस गर्ने र त्यो कामलाई स्वीकृत गर्ने पदाधिकारीमाथि छानबिन गरी १५ दिनभित्र समितिमा प्रतिवेदन उपलब्ध गराउन नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन् ।
बैठकले छिमेकी देशबाट नेपाल प्रवेश गर्ने ठूला मालवाहक गाडीले निर्धारित मापदण्ड र सडकको क्षमताभन्दा बढी मालवस्तु बोके÷नबोकेको सम्बन्धमा प्रवेश नाकामै परीक्षण गर्नका लागि नीतिगत व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
त्यसैगरी बैठकले राष्ट्रिय गौरवका आयोजनाहरूलाई निर्धारित समयमा काम सम्पन्न गर्नका लागि भुक्तानी समस्या देखिएका भन्दै त्यस्तो समस्या समाधान हुने गरी बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । निर्माण सामग्रीहरूको सहज उपलब्धता हुने व्यवस्था मिलाउन पनि समितिको निर्देशन छ ।
समितिले स्थलगत अध्ययन, अवलोकन भ्रमण भइ तयार पारिएको नारायणघाट–बुटवल सडक खण्डको स्थलगत अध्ययन, अवलोकन भ्रमण प्रतिवेदन २०७८ र मदन भण्डारी लोकमार्गको स्थलगत अध्ययन भ्रमण प्रतिवेदन २०७८ लाई पारित गर्ने निर्णय गरेको छ ।
पारित प्रतिवेदनले निर्दिष्ट गरेका विषय कार्यान्वयनका लागि सरकारका सरोकारवाला मन्त्रालय तथा निकायहरूमा पठाउने निर्णय समेत बैठकले गरेको छ ।






