चितवन,२८ माघ  ।                                      चितवनमा पुनः  बर्डफ्लू रोगको संक्रमण देखिएको छ । जिल्लाकाे राप्ती नगरपालिका–६ स्थित अनिता पशुपंक्षी कृषि फर्ममा बर्ड फ्लू देखिएको हो ।

फर्ममा कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौं पठाइएकामा बिहीबार संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए ।   बर्ड फ्लूको एचपाइभ एनवान संक्रमण देखिएको उनलेे बताए  ।

उक्त फर्ममा दुई हजार कुखुरा छन् । उक्त फर्मको १०० मिटर वरपर रहेका पंक्षी नष्ट गर्ने काम आज हुने उनले बताए । फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने उनको भनाइ छ । शंकाष्पद फर्महरूको नमूना संकलन गरी परीक्षण गरिने उनले जानकारी दिए।

बर्ड फ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको आज बसेको बैठकले बर्ड फ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको उनको भनाइ छ ।