काठमाण्डौ,२८ माघ ।
आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो स्थापना दिवस मनाउँदैछ ।

मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि २०४७ साल माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना भएको थियो ।

आयोगको एकतीसौँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारविरुद्ध सबै सचेत हुनुपर्नेमा जोड दिएका छन् । भ्रष्टाचार नियन्त्रण सूचकाङ्कमा दक्षिण एसियामा नेपाल न्यून स्तरमा रहनु गम्भीर चिन्ताको विषय रहेको भन्दै प्रधानमन्त्री देउवाले भ्रष्टाचारलाई रोक्न प्रतिबद्ध भएर काम गर्न पनि आयोगलाई आग्रह गरेका छन् ।

दिवसको अवसरमा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारका बहुआयामिक स्वरुप, कारण र प्रभावबारे विधि र प्रविधिमार्फत् आयोगको जिम्मेवारी पूरा गर्ने गरी संस्थागत रणनीतिक योजना तथा कार्ययोजना कार्यान्वयनमा रहेको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा परेका २४ हजार १ सय ९० उजुरीमध्ये १५ हजार ५ सय ४७ उजुरी फर्स्यौट गरेको जनाएको छ । यस अवधिमा फर्स्यौट भएका उजुरी प्रतिशत दर ६४ दशमलव २७ प्रतिशत रहेको छ ।

अख्तियारको वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा धेरै भ्रष्टाचार स्थानीय तहमा देखिएको छ । स्थानीय तहमा ३२ दशमलव ८३ प्रतिशत उजुरी रहेको अख्तियारको तथ्याङ्कमा उल्लेख छ ।
भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा नेपाल एक सय १७ औँ स्थानमा रहेको छ ।

विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्स्परेन्सी इन्टरनेशनलले माघ ११ गते सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२१ मा नेपालले सयमा ३३ अङ्क पाएको छ । अघिल्लो वर्ष पनि नेपाल यही स्थानमा रहेको थियो ।