काठमाण्डौ,२७ माघ ।
नेपाली काँग्रेसले स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै दुईवटा समितिहरू गठन गरेको छ । बिहीबार पार्टी मुख्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सक्रियता साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गर्दै स्थानीय निर्वाचन मूल तयारी समिति र घोषणा पत्र तयारी समिति गठन गरेको हो ।

आजको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरू, पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूका सम्बन्धमा र विविध विषयका प्रस्तावहरू प्रस्तुत गरेका थिए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, डा. रामशरण महत, सुनिलबहादुर थापा, बलबहादुर के.सी., उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जीपछिरिङ लामा र आनन्दप्रसाद ढुंगानाले आफ्नो धारणा राखेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्यस्तै बैठकमा संगठन सुदृढीकरण, सभापति पद रिक्त भएका भातृ एवम् शुभेच्छुक संस्थाको बारेमा, नयाँ भातृ र शुभेच्छुक संस्थालाई मान्यता प्रदान गर्ने सम्बन्धमा, थाती राखिएका क्रियाशील सदस्यहरूको व्यवस्थापन सम्बन्धमा, नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धनमा, केन्द्रीय अनुशासन समिति गठन सम्बन्धमा तथा बाँकी रहेका जिल्ला, क्षेत्र र पालिका समेतको अधिवेशनको नयाँ मिति घोषणा गर्ने सम्बन्धमा पनि छलफल भएको मुख्यसचिब पौडेलले बताए ।

कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्ने जनाइएको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठक भोलि पनि जारी रहने जानकारी दिए ।

नेताहरुको बोल्ने क्रम नसकिएकोले भोलि पनि नेताहरुले आफ्नो धारणा राख्ने उनले बताए ।
आजको बैठकमा नेताहरुले एससीसी परियोजना, स्थानीय तहको निर्वाचन, भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन लगायतका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

आजको बैठकमा अधिवेशन बाँकी रहेका १६ जिल्लामा छिटो अधिवेशन सक्नुपर्ने विषयमा नेताहरुले धारणा राखेका थिए । ३७ सदस्यीय कार्यसम्पादन समितिका १२ जनाभन्दा धेरै नेताले आज धारणा राखेका छन् ।