बुटवल,२५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।

गत मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिंदेनसँग पराजित भएका थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । यसबारे छानबिन गरी हस्तक्षेपको भतसर्ना गर्नुपर्ने र भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुपर्ने पूर्वअध्यक्ष थापाको माग थियो ।

सुरुमा यसबारे छलफल गर्न अस्वीकार गरेका राप्रपा अध्यक्ष लिंदेनले शनिबार भने थापालाई भेटेर संवाद गरेका थिए । थापाले उठाउँदै आएको मागबारे छलफल भइरहेको र छिट्टै निकास निस्कने समेत उनले दाबी गरेका थिए ।

थापा भने स्थानीय तहको निर्वाचन घोषणा अघि नै आफ्नो माग सम्बोधन हुनुपर्ने अडानमा थिए । सोमबार मात्र आफ्नो पक्षका नेताहरुको भेला गरेर गृहनगर हेटौंडा पुगेका पूर्वअध्यक्ष थापाले मंगलबार पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

पार्टी भित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हाबी भएको त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले अलग भएको उनको भनाइ छ ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वअध्यक्ष कमल थापालाई पार्टी परित्याग गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ ।

थापाले आज मङ्गलवार पार्टीबाट अलग भएको घोषणा गरेलगत्तै बसेको राप्रपाकाे पदाधिकारी बैठकले थापाको निर्णयप्रति दुःख व्यक्त गर्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेको हो ।

‘राप्रपाकाे एकता महाधिवेशनपछि पार्टीकाे लाेकप्रियतामा वृद्धि तथा राष्ट्रिय शक्तिका रूपमा उदय र विकास भइरहेकाे समयमा निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने भनी गरिएकाे घाेषणाप्रति दुःख प्रकट गर्दछाैँ । पार्टीबाट अलग हुने निर्णयमा पुनर्विचार गर्न राप्रपा अनुराेध गर्दछ’, विज्ञप्तिमा भनिएकाे छ ।