बुटवल,२४ माघ ।
भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन उडानका लागि ५ फागुनमा जहाज नेपाल आउने भएको छ ।
सञ्चालनको तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्न ५ फागुनमा थाइल्यान्डको सरकारी विमान सेवा कम्पनी एराे थाई काे जहाज नेपाल आउन लागेको हो ।
क्यालिब्रेसन उडान गर्ने जिम्मेवारी पाएकाे साे कम्पनीले यसअघि दिएको अनुमानित मितिभन्दा एक साता अगाडि नै जहाज नेपाल ल्याउन लागेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार कम्पनीले यसअघि दिएको अनुमानित मितिभन्दा एक साता अगाडि नै जहाज नेपाल ल्याउन आग्रह गरिए अनुसार मिति तय भएको हो । क्यालिब्रेसन उडानबाट विमानस्थलको सञ्चालनमा जडान उपकरणहरुले काम गरे÷नगरेको हेरिने छ । त्यसपछि विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजबाट परीक्षण उडान गर्ने तयारी छ ।
आगामी बुद्वजयन्ती अगावै गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने योजना अनुसार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यालिब्रेसन उडानका लागि सकेसम्म छिटो जहाज नेपाल ल्याउन एराे थाईलाई आग्रह गरेको थियो ।
महानिर्देशक अधिकारीका अनुसार विमानस्थलको भौतिकतर्फको काम शतप्रतिशत पुरा भइसकेकेको छ भने अब प्राविधिकतर्फको परीक्षणको काम सकिएपछि विमानस्थल व्यवसायिक रुपमा संचालनका लागि योग्य ठहरिने छ ।
क्यालिब्रेसन उडानका दौरान कन्ट्रोल टावरको समेत परीक्षण हुने छ । गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलको काम २१ डिसेम्बर २०१४ बाट शुरु भएको हो । राष्ट्रिय गौरवका आयोजनामध्ये सम्भवतः सबैभन्दा कम समयमा पुरा हुने आयोजनाका रुपमा यो आयोजना रहेको छ ।
भैरहवामा ३ हजार मिटर लम्बाई र ६० मिटर चौडाईको विमानस्थल बनेको छ । यो विमानस्थलले त्रिभुवन विमानस्थलको विकल्प दिने अपेक्षा गरिएको छ ।
अहिले प्राविधिकहरुले विमानस्थलमा यान्त्रिक उडान गर्न आवश्यक तयारी गरिरहेका छन् ।






