काठमाडौं,२३ माघ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गराउन सिफारिस गरेको छ ।

आइतबार बसेको सीसीएमसीसीको बैठकले फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गराउन सरकारलाई सिफारिस गरेको हो ।

१२ वर्ष पूरा भएका बालबालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन पाउने र १२ वर्षमुनिका बालबालिका बारअनुसार आलोपालो कक्षामा सहभागी गराउने गरी सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

कोरोना संक्रमण तीव्र रुपमा बढेपछि गत पुस २५ गते बसेको सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो तर माघ १४ गते बसेको सीसीएमसीसीको अर्को बैठकले सो निर्णयलाई माघ मसान्तसम्म निरन्तरता दिन सिफारिस गरेको थियो ।

सीसीएमसीसीले कोरोना महामारीको जोखिम उतिकै रहेको भन्दै माघ मसान्तसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

कक्षाा सञ्चालन नभए पनि माघ १५ गतेदेखि २० गतेसम्म बालबालिकालाई खोप लगाउनका लागि विद्यालयहरू खुला गरिएको थियो ।

त्यस्तै सीसीएमसीसीले फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर जिम, फिल्म हल, फुटसललगायत रात्रिकालिन व्यवसायहरू दोहोरी, डान्सबारलगायत सञ्चालनका लागि सिफारिस गरेको छ ।

रात्रिकालिन व्यवसायहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाइएको छ । पाटी प्यालेसमा फुल क्षमताको ५० प्रतिशत अथवा १०० भन्दा बढी भेला हुन नपाउने गरी सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको प्रवक्ता नेपालले बताइन् । यद्यपी अहिले भेला, सभा सम्मेलनमा लगाइएको प्रतिबन्ध खुला गरिएको छैन ।